निर्माण उपकरणमा आगजनी गरिएकामा महासङ्घको आपत्ति
काठमाडौं- कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आगजनी गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्षसमेत रहनुभएका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् ।
निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताए । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासङ्घले दिएको छ ।
तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घका महासचिव दाहालले जोडदार माग गरेका छन् । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पुनः एक पटक सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस