हिमाली जिल्लाः बालबालिकाले भारी नबोकी चुलो बल्दैन
उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।
हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।
दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।
गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु एक हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताए । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उनले बताए । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा (३० केजी) को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताए ।
सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताएभयो । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताए ।
हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उहाँले बताए । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।
जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस