• जीवनशैली | Jiwanshaili
  • वीर अस्पतालका थोत्रा एम्बुलेन्स र गाडी थन्क्याउने थलो बन्याे खुलामञ्च(भिडियोसहित)


    काठमाडौं महानगरपालिकाले आज खुलामञ्चमा अतिकमण गरी बनाइएका संरचनाहरु डोजर लगाएर हटाएको छ। संरचना हटाउँदै गर्दा खुलामञ्चको छेउछाउमा थन्क्याएर राखिएका थोत्रा एम्बुलेन्स र गाडीतिर भने महानगरको ध्यान जान सकेन।

    त्यहाँ बेवारिसे रुपमा थन्क्याइएका एम्बुलेन्सहरुमा वीर अस्पताल लेखिएको थियो। त्यसरी थन्क्याएर राखिएका एम्बुलेन्सहरु मर्मत गरे पुनः प्रयोग गर्न सकिने अवस्थाका थिए। तर त्यसतर्फ न त महानगर न त वीर अस्पातलको नै ध्यान जान सक्यो। ती सबै एम्बुलेन्स भने विभिन्न छिमेकी राष्ट्रहरुले अनुदान स्वरुप प्रदान गरेका हुन्।

    अवैध तरिकाले संरचना बनाइने र गाडीहरु राख्नाले खुलामञ्चको औचित्य नै प्रष्ट हुन सकेको छैन।

    हाल नेपालमा राजनीतिक विकासक्रमले गर्दा विभिन्न दल तथा पार्टीहरुहरुले आमसभा र प्रदर्शन गर्न काठमाडौंका सडकलाई नै प्रयोग गर्दै आएका छन्। त्यति मात्र नभई संघसंस्था तथा विभिन्न समाज र संगठनहरुको पनि सभा, जुलुश गर्ने थलो राजधानीका गल्ली, सडक र चौंक नै बनाएका छन्। जसले गर्दा आमजनता तथा नागरिकहरुले बिना कारण दुःख खेपिरहनु परेको छ।

    खुलामञ्चको औचित्य पुष्टि गर्नका निमित्त सरकारले धेरै समयपछि आज मात्र खुलामञ्च खाली गर्ने अभियानको थालनी गरेको छ। महानगरले संरचनातर्फ मात्र ध्यान नदिई बिनाकाममा थोत्रा पारी थन्क्याएका गाडी तथा एम्बुलेन्सलाई पनि उचित व्यवस्था गर्न जरुरी छ।

    सरकारले समयमै खुलामञ्चका गाडी तथा एम्बुलेन्सको व्यवस्थापन गरेर एम्बुलेन्स र गाडी नभएका स्थानीय तह तथा विकट क्षेत्रमा उपलब्ध गराउँदा जनता पनि खुसी हुने र स्रोत साधनको पनि उचित ढंगले प्रयोग हुन्थ्यो कि !

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस