• जीवनशैली | Jiwanshaili
  • कामकाजी महिला र घर गृहस्थी


    मेरो एकजना पढेलेखेकै जागिरे साथीले भनेको, हामी महिलाहरु किन पढ्यौँ होला है ? हाम्रो आमा हजुरआमाहरु नपढेर पनि त कति सम्मानित तरिकाले बाँचीरहेका छन् । हामीले पढेर के नै गर्यौँ र ?

    त्यतिखेर मलाई उसको कुरा वाइयात लाग्यो आजको जमानामा पनि के यस्तो कुरा गरेकी जस्तो । तर जागिरे महिलाको घर गृहस्थी र अवस्था देख्दा अहिले उसको कुराले मलाईसोच्न वाध्य बनाउँछ । हाम्रा हजुरआमाहरु पढेनन् घर परिवार, चुलो चौको, मेलापात नै उनिहरुले आप्mनो संसार माने पुरुषप्रधान हाम्रो समाजले बनाएका रीति र कानुनमा बाँचे । त्यसबेला महिलाहरुले घरभित्रको काम गर्ने र पुरुषहरुले श्रीमति र छोराछोरीको खाने लाउने प्रबन्ध गर्ने जिम्मा थियो । उनीहरुको जिन्दगी पनि सुखले बितेका थिए। कतै कसैले पनि महिलामाथी हिंसा भयो भन्ने आवाजहरु उठाएनन् । उनहरुका लागी त्यही नै प्रकृतिको नियम थियो ।

    अहिलेका महिला हरेक कुरामा सक्षम छन् । परिआए जस्तोसुकै काम पनि गर्न सक्छन् । शैक्षिक, आर्थिक, राजनीति, वैदेशिक रोजगार लगायत हरेक क्षेत्रमा अब्बल छन् आजका महिला । तर ती हजुर आमा जस्तो खुसी र सन्तुष्ट छैनन् । जागिर सँग–सँगै घर गृहस्थिको कामले दोहोरो पिसाइमा छन् । दोहोरो जिम्मेवारीले कतिपय दिदी बहिनीहरु डिप्रेसनको शिकार भएका छन् । फेरी यसको अर्थ महिलाहरु पढेर ठुलै गल्ती गरे भन्ने भने होईन ।

    महिलाहरुले पढी लेखी ईतिहास रचेका पनि छन् । यो त दिनभरी कामबाट थाकेर आउँदा असरल्ल कोठा मिलाउँदै खाना पकाउनु पर्दा, सुतिरहेको बाल–बच्चालाई ओछ्यानमै छोडेर काममा जानुपर्दा, लगायत दोहोरो भुमिका निभाउँदा एउटी जागिरे महिलाका मनमा उब्जिएको प्रश्न हो । हामी महिलाहरु किन पढ्यौँ होला है ?

    दोहोरो पिसाइमा कामकाजी महिला

    कामकाजी महिलालाई लागि घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण भने बनेका छन् । एकातर्फ ठूला शैक्षिक उपाधि हासिल गरी वृत्ति विकासमा पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु र आर्थिक रुपमा महिलाले अन्यमा आश्रित नभई स्वावलम्बी बन्नु जरुरी भएको छ । पेसागत रुपमा महिलाहरु आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भने अर्कातिर महिलाले परम्परागतरुपमा परिवारप्रति निर्वाह गनुपर्ने दायित्व पनि सँगसँगै लानुपरेको हुन्छ । सबै क्षेत्रमा महिलाहरुले विभिन्न हैसियतमा कार्यरत भएर सृजनशीलता र क्षमता प्रर्दशन गरिरहेका छन् । तर, महिलाले घर व्यवहारमा पूरा गर्नुपर्ने भूमिकामा परिवर्तन नआएकोले आफू दोहोरो पिसाइमा परेको अनुभूति पनि धेरै महिलाले गरेका छन् ।

    रहरका छोराछोरी र वाद्यताको जागिर

    उसो त सबै क्षेत्र तथा अधिकारमा महिला पुरुष समान भनिन्छ तर बच्चा जन्माउने सवालमा भने महिलालाई प्राकृतिक रुपमै एकाधिकार प्राप्त छ ।
    प्रसव अघि र पश्चात् महिलाले कठीन दिनबाट गुज्रनुपर्ने हुन्छ । अर्को एउटा मानव गर्भमा प्रवेश गरेदेखि त्यसले बाह्य संसारमा अवतरण गरेपछि बुझ्ने नहुञ्जेल आमाको साथ चाहान्छ । आमा पनि आफ्नो पुरा समय बच्चाको हेरबिचारमा खर्च गर्न चाहन्छिन । तर जागिरे महिलाहरुको लागी यो सम्भव छैन । उस्तै परे जन्मेको दुई महिनामै बच्चालाई बट्टाको दुधको भरमा छोडेर काममा जानुपर्छ । मेरो एकजना रेडियोको जागिरे साथी भन्छिन्, ‘बिहान पाँचै बजे उठेर हिँड्नुपर्र्छ । मस्त निद्रामा सुतीरहेको नानीलाई ओछ्यानमै छोडेर हिँड्नुपर्दा मन कटक्क खान्छ । कहिल्यै धित मरुञ्जेल अँगालोमा बेरेर सुत्न पाउँदिन । कहिलेकाँही किन जागिर गरेहुँला जस्तो लाग्छ ।’ उनको कुराले फेरी मलाई त्यही साथीको कुरा सम्झिन बाद्य बनायो । हामी किन पढ्यौं होला है ?

    जागिरे महिलाको दाम्पत्य जीवनमा समस्या

    विवाहपछि धेरै जोडी आफ्नो वैवाहिक जीवन आफूले सोचेजस्तो होस् भन्ने चाहन्छन् । विदेशतिर आफुले चाहेको बेलामा सम्बन्ध बिच्छेद गरेर छुटिन्छन् । तर संस्कृति र परम्पराले बाँधिएको हाम्रो देशमा सम्बन्ध बिच्छेद गर्न त्यति सजिलो छैन । हाम्रो हजुरआमाहरुले दाम्पत्य जीवनमा जतिसुकै समस्याहरु आएपनि सम्बन्ध बिच्छेद गर्नु हुँदैन । विभिन्न दुःख पीडाहरु सहेर लोग्नेको घर गरेर खानु महिलाको धर्म हो भन्ने सिके र आउने पीँढिहरुलाई पनि त्यहि सिकाए । ग्रामीण महिलाहरु अहिले पनि यो समस्या भोग्दै आएका छन् ।

    तर शहर बजारतिर बस्ने कतिपय महिलाहरु भन्ने दाम्पत्य जीवनमा समस्या आएपछि सम्बन्ध बिच्छेद गरेर छुट्टै बसेका पनि छन् । ग्रामीण भेगमा बसिरहेका महिलाहरु पढेलेखेका भएपनि रोजगारीको त्यति अवसर हुँदैन त्यसैले उनीहरु घरको चुलो चौको, मेलापात र खेतीपातीमै सिमित हुन्छन् । आफुसँग आम्दानीको स्रोत नहुँदा श्रीमानको भरमा छोराछोरी पढाउनुपर्ने बाध्यता हुन्छ । त्यसैले उनीहरु दाम्पत्य जीवनमा जतिसुकै समस्याहरु आएपनि सहेर बसिरहेका हुन्छन् ।

    शहर बजारमा भने रोजगारीको अवसर हुन्छ । सामान्य लेखपढ गर्न जान्ने महिलाहरु पनि बेरोजगार भएर बस्नु पर्दैन । पुरुषहरुको सोचाई के हुन्छ भने आफुले जागिर गरिराखेकै छु श्रीमतीले घर समालेर बसिदिए नि हुन्थ्यो । तर महिलाहरु आफुले काम पाउँदा पाउँदै सानो सानो कुराको लागी किन श्रीमानसँग हात फैलाईरहनु भन्ने सोचले जगिर गर्न चाहान्छन् । यही जागिरको विषयलाई लिएर उनीहरुको दाम्पत्य जीवनमा समस्या आउँछ र अन्ततः छुट्टिएर बस्न बाध्य हुन्छन् ।

    तर जीवनमा जतिसुकै समस्या आएपनि महिलाहरुले संघर्ष गर्न भने छोडेका छैनन् र छोड्नु पनि हुँदैन । महिलाहरुकै संघर्षका बावजुद पुरुष प्रधान हाम्रो समाजले बनाएका सति, झुमा, देउकी, कमलरी, छाउपडी लगायत कुप्रथाहरुलाई चिर्दै महिलाहरु यो अवस्थासम्म आईपुगेका छन् । कसैकी छोरी, श्रीमती, आमाका रुपमा मात्रै चिनिने महिला अहिले राष्ट्रपति, सभामुख, प्रधान न्यायाधिश, पत्रकार , डाक्टर, पाइलट, खेलाडी आदि उपाधिले आफुलाई चिनाउन सफल भएका छन् । आशा गरौँ छिट्टै विभिन्न नेपाली महिलाहरु पनि आफ्नो बारेमा आफै निर्णय लिन सक्ने हुनेछन् । उनीहरु सम्मानित तरिकाले बाँच्न पाउनेछन् । यसको लागि विभिन्न कुप्रथाले जरा गाडेको हाम्रो समाजलाई अझै परिवर्तन गर्न आवश्यक छ । अनि मात्रै महिलाहरु सुखी जीवन जिउन सक्छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस