• जीवनशैली | Jiwanshaili
  • खुवालुङ पुगेर अभियन्ताहरूले गरे प्रदर्शन


    तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको किरातिहरूको सांस्कृतिक स्थल खुवालुङ पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन् । सप्तकोशीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो ।

    बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति लेखक संघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् । किराँत सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

    ८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भएपनि कोशीमा जहाज चलाइछाड्ने उद्घोष गरेका थिए ।

    यसैको विरोधमा सोमबार गरिएको प्रदर्शनमा बोल्दै साहित्यकार एवं आदिवासी जनजाति लेखक महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने हरेक शासकविरुद्ध जनता उभिने उद्घोष गरे ।
    मुकारुङले भने, ‘किराँतहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमामात्रै नदेखोस् ।’
    यस्तै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मन्दिरको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

    यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगो भत्काउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा भत्काउन नमिल्ने पक्षमा छन् ।
    विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीहरूको उपस्थिति थियो ।

    स्थानीय इन्द्रहाङ खम्बूका अनुसार खुवालुङको शाब्दिक अर्थ पानीमा रहेको ढुगो भन्ने बुझिन्छ । किराँतका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बूले बताए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस