कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द
टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताए । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ ।
यस्तै नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ । टोखाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ । नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
“अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उनले भने । यसअघि टोखाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको थियो । सोही स्वास्थ्य केन्द्रमा आगामी दिनमा पनि बिरामीको उपचार गरिने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस