• जीवनशैली | Jiwanshaili
  • अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिशिन’


    कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेको अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न ‘टेलिमेडिशिन’ कार्यक्रम ल्याइएको छ ।

    सो नगरपालिकाको पहलमा यो पाइलट प्रोजेक्टका रुपमा शुरु हुन थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ । उक्त कार्यक्रमले जटिल प्रकारका समस्या गाउँकै स्वास्थ्य चौकीबाट समाधान गरिनेछ । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् ।

    यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ । नगरपालिका, एनआरएन युके र अन्तरराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाका रुपमा उक्त ‘टेलिमेडिशिन’ कार्यक्रम शुरु हुन थालेको बताइएको छ ।

    कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौँ तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकामा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिशिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए।

    नगरपालिकामा स्वास्थ्यको पहुँच बढाउन ‘टेलिमेडिशिन’ कार्यक्रम ल्याउनका लागि सहजीकरण गरिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । एनआरएनए अन्तरराष्ट्रिय समितिका महासचिव एवं अन्तरराष्ट्रिय बागलुङ समाजका सल्लाहाकार डा हेमराज शर्मा तथा चार भञ्ज्याङ तमु समाज युकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा सो नगरपालिकामा नमूनाका रुपमा कार्यक्रम सञ्चालनमा आउनेछ ।

    यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाडलगायतमा समेत शुरु गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले जानकारी दिनुभयो । चार भञ्ज्याङ तमु समाज युकेले हाल पर्वतको फलेवास नगरपालिकामा सन् २०१३ बाट टेलिमेडिशिन सेवा सञ्चालन गरिसकेको छ । टेलिमेडिशिन सेवाका माध्यमबाट बिरामीको उपचारमा अन्तरराष्ट्रियस्तरको पहुँच राख्न सकिनेछ ।

    अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विशेषज्ञलाई अनलाइनमार्फत रोगको जानकारी र लक्षणसहितको रिपोर्ट पठाउने तथा सम्बन्धित रोगको विशेषज्ञले औषधि उपचार र परामर्श अनलाइनमार्फत पठाउने गर्दा दुरदराजमा रहेका दीर्घरोगीलाई निकै फाइदा पुग्नेछ ।

    उक्त ‘टेलिमेडिशिन’ कार्यक्रममा विभिन्न देशका ७६६ मेडिकल प्रोफेसर जोडिने बताइउको छ । उनिहरुले बिरामीको अवस्था बुझेर सल्लाह, सुझाव, औषधि तथा उपचार विधि अनलाइनमार्फत स्थानीय स्वास्थ्यकर्मीलाई पठाउने छन् । स्थानीय स्वास्थ्यकर्मीले अनलाइनमार्फत आएका सुझाव तथा उपचार विधि अपनाएर सेवा दिने छन् ।

    उक्त नगरपालिकामा एउटा ‘टेलिमेडिशिन’को अनलाइन डेस्क स्थापना हुन्छ र त्यसमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत आएका जिज्ञासा ‘टेलिमेडिशिन’मा राखेपछि सम्बन्धित रोगका विषयमा सम्बन्धित विशेषज्ञले उपचार पद्धति डेस्कमा पठाएपछि स्वास्थ्यकर्मीले सोही अनुसार स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार