कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता
कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ ।
“महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने ।
उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ । त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्यसका लागि भक्तपुरबाट कामदार ल्याउनुपर्ने भएकाले अहिलेका लागि त्यो पनि रोकिएको थापाले जानकारी दिनुभयो । त्यस्तै अन्य वडामा सञ्चालनमा रहेको केही विकासका कामले भने निरन्तरता पाएका छन् ।
चालु आवका लागि कामपाको भौतिक पूर्वाधारका लागि रु ३ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये हालसम्म २२ प्रतिशत मात्र खर्च भएको बताइएको छ । थापाले भन्नुभयो, “विकास बजेट धेरै खर्च हुने समय चैत, वैशाख, जेठ र असार हो, यही समयमा कोरोना महामारीले थलिएर बस्नु परेको छ त्यसैले विकास खर्च हुन सकेको छैन ।” कामपाले चालु आवका लागि रु १५ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस