• जीवनशैली | Jiwanshaili
  • बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक जना पक्राउ


    बारा जिल्लाको कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।
    कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको दुई जना बालकको हत्या आरोपमा फरमुल्लाह अन्सारीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

    अवैध सम्बन्ध खुल्ने डरले कलैया उपमहानगरपालिका रंगपुरमा जेठ ३ गते राति अब्दुल गफार अन्सारीका ९ वर्षीय छोरा उसमान अन्सरी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर हत्या भएको थियो । प्रहरीले अभियुक्तको घरबाट चक्कु र रगत लागेको पेटी बरामद गरेको छ । उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

    हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो । बालकहरूको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलमा परिचालन गरि अभियुक्त पत्ता लगाएको हो ।

    प्रहरीका अनुसार अब्दुल गफार अन्सारीको श्रीमतीसंग फरमुल्लाहको अवैध सम्बन्ध रहेको थियो । मृत्क बालकको बुवा अब्दुल गफार विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।

    केही समय यता अभियुक्त र मृतक बालकको आमाबीच प्रेम सम्बन्ध बनेको थियो । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा बालकलाई थाहा पाएपछि उनीहरुको हत्या भएको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्त फरमुल्लाहले पनि मृतक बालकको आमाबीचको सम्बन्धको विषयमा भेद खोल्ने डरले हत्या गरेको बयान दिएका छन् । बाराका प्रहरी नायव उपरीक्षक डीएसपी गौतम मिश्रले बताए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस