फोक्सोको क्यान्सर भएकालाई कोरोनाको जोखिम उच्च
कोरोना संक्रमितको संख्या बढ्दै गर्दा दीर्घरोगीहरूमा यसको प्रभाव बढेको तथ्याङ्क छ । यता दीर्घरोगीहरूलाई छिट्टै हुने संक्रमणले मृत्युको मुखसम्म पुर्याउँदै आएको खबर हामीले सुन्दै आएका छौं ।
हाम्रो देशमा दीर्घरोगीहरू संख्या धेरै छ जसकारण उनीहरूको परिवारमा त्राश एवं चिन्ता बढेको छ । विशेषगरी क्यान्सरका बिरामीहरूमा पनि कोरोना संक्रमणको जोखिम बढेको देखिन्छ ।
क्यान्सरका बिरामीलाई कोरोना हुने–नहुनेबारे धेरैलाई अन्योल छ । यसैले क्यान्सर र कोरोनाको सम्बन्धबारे जनचासो बढिरहेको पाइन्छ ।
क्यान्सरको यही सेरोफेरोमा रहेर जीवनशैलीकी रीता श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठसँग गरेको कुराकानी :
अहिले धेरैथरि क्यान्सरबारे सामाजिक सञ्जाल तथा इन्टरनेटमा चर्चा हुने गर्छ । तर सामान्य अर्थमा क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
क्यान्सर भनेको एउटा दीर्घ रोग (लामो समयसम्म रहिरहने) हो, जुन शरिरको सानो कोषिकाबाट सुरु हुन्छ । कोषिका भनेको एउटा ‘युनिट’ हो । जसरी एउटा घर ईंटाहरूले बनेको हुन्छ त्यसरी नै हाम्रो शरीर पनि कोषिकाहरूले बनेको हुन्छ । कुनै पनि एउटा कोषिकामा केहि कारणबस खराबी वा भनौं गढबढी भएको खण्डमा बिस्तारै क्यान्सरको रूपमा कोषिकाहरू विकास हुन थाल्छ ।
मुख्य भनेको हाम्रो जीवनशैली नै हो । हामीले कस्तो खानपान गर्छौं, हाम्रो दैनिक क्रियाकलाप कस्तो छ, मादक पदार्थको सेवन गर्छौं–गर्दैनौं जस्ता कुराको भूमिका रहन्छ ।
यसरी विकास हुने क्रममा ती काम नलाग्ने कोषिकाहरूको संख्या बढ्दै जान्छ जुन ‘ट्युमर’को रूपमा देखिन्छ । यसरी बढ्ने कोषिकाहरू एउटा अंगबाट अर्को अंग हुदै फैलिएपछि त्यो क्यान्सरमा परिणत हुन्छ । समयमै उपचार गरिएन भने यो मृत्युको प्रमुख कारण पनि बन्न सक्छ । यही प्रक्रियालाई क्यान्सर वा अर्बुद रोग भनिन्छ ।
क्यान्सर हुन सक्ने मुख्य कारणहरू केके हुन् ?
विशेषतः सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर गराउँछ । तर मुख्य भनेको हाम्रो जीवनशैली नै हो । हामीले कस्तो खानपान गर्छौं, हाम्रो दैनिक क्रियाकलाप कस्तो छ, मादक पदार्थको सेवन गर्छौं–गर्दैनौं जस्ता कुराको भूमिका रहन्छ ।
रक्सी, चुरोट, खैनीका साथ साथै मासुको अत्यधिक सेवन गर्नाले, विशेषगरी पोलेको मासुहरू दिनहुँ खानाले, बट्टामा राखेको अचारहरू दिनहुँ खानाले क्यान्सर गराउन सक्छ । साथै शारिरिक क्रियाकलाप नगर्ने र निस्क्रिय बस्नेहरूमा पनि क्यान्सर जोखिम एकदम धेरै नै हुने गर्छ ।
त्यस्तै अर्को मुख्य कारण भनेको विभिन्न रेडियो विकिरणहरूबाट पनि हुन्छ । उपचारमा प्रयोग विभिन्न विकिरणहरू जस्तै: एक्सरे, सीटी स्क्यानबाट पनि क्यान्सर हुन सक्छ । अब मानिसहरूलाइ सुन्दा अचम्म लाग्न सक्छ, हामीलाई अति नै आवश्यक पर्ने घामबाट पनि छालामा क्यान्सर हुन सक्छ ।
बढ्दै गएको प्रदुषणका कारण पनि शरिरका विभिन्न भागमा क्यान्सर हुन सक्छ । अर्को भनेको पेशाका कारण पनि मानिसमा क्यान्सर हुन सक्छ जस्तो कि कृषि क्षेत्रमा हुनेहरूले किटनाशक औषधिहरूको प्रयोगका कारण पनि क्यान्सर हुन सक्छ । त्यस्तै अर्को कारण भनेको वंशाणुगत पनि हुन सक्छ तर यसको सम्भावना भनेको ५ देखि १० प्रतिशत मात्र हुन्छ ।
क्यान्सर रोगीहरूलाई कोरोना संक्रमणको जोखिम र खतरा भनिएको छ, प्रष्ट पारिदिनुहोस् न ।
यो कुरा एकदम सत्य हो तर क्यान्सर बिरामी भएर उपचारमा रहेका बिरामीहरूलाई जोखिम र खतरा हुने कुरा बुझ्न जरुरी छ । क्यान्सर निको भइसकेकालाई भने सामान्यमा जति मात्र जोखिम हुने गर्दछ । क्यान्सर रोगसंग लडिरहेका र उपचारमा लागिरहेकाहरूको रोगसंग लड्न सक्ने क्षमता निकै कम हुने भएकाले कोरोना संक्रमणबाट बच्न विशेष सजगता अपनाउनु पर्छ ।
विश्वको तथ्यांक हेर्ने हो भने पनि कोरोनाका कारण मृत्यु हुनेहरूमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, वृद्धवृद्धा, दीर्घरोग भएकाहरू देखिएको छ । दीर्घरोगमा क्यान्सर पनि पर्ने भएकाले जोखिम बढि नै देखिएको छ ।
यदि कुनै क्यान्सर रोगीलाई कोरोना संक्रमण भयो भने केके चुनौतिहरू आउन सक्छ ?
यदि फोक्सोको क्यान्सर हो भने एकदम नै ग्राहो हुन्छ । श्वासप्रश्वासमा समस्या आएर निकै कठिन अवस्था पनि आउन सक्छ । फोक्सोले काम गर्न नसक्दा व्यक्तिको मृत्यु पनि हुन सक्छ ।
अब अन्य क्यान्सर रोगी कै कुरा गर्दा एकदम समस्याहरू आउने गर्दछ किनकी त्यस्ता बिरामीलाइ उपचार गर्न नै गाह्रो हुन्छ । क्यान्सर बिरामीलाई कोरोना संक्रमण हुदा कोभिड उपचार केन्द्रमा लगेर उपचार गर्न गाह्रो छ किनकी त्यहाँ कोभिडको मात्र उपचार गरिन्छ । फेरि क्यान्सर अस्पतालमा राखेर उपचार गर्दा कोरोना फैलिएर अर्को समस्या आउन सक्छ ।
क्यान्सर रोगको उपचार चलिरहेको छ भने देखि विशेष ध्यान दिनु पर्छ । क्यान्सर बिरामीहरूले स्यानीटाइज भन्दा पनि साबुन पानीले नै हात धुने गर्नु पर्छ ।
त्यसैले एक क्यान्सर बिरामीलाई कोरोना संक्रमण हुदा शारिरिक समस्या त आउछ नै साथमा उपचार कै लागि पनि निकै चुनौतिहरू आउन सक्छ । त्यसैले क्यान्सर बिरामीहरूले कोरोनाबाट बच्न सजग रहनु पर्छ ।
क्यान्सर बिरामीहरूले कोरोना संक्रमणबाट बच्न के गर्नुपर्छ ?
क्यान्सर रोग निको भइसकेको छ भने अरू सामान्य व्यत्तिहरूले जस्तै सावधानीका उपायहरू अपनाउदा हुन्छ । तर क्यान्सर रोगको उपचार चलिरहेको छ भने देखि विशेष ध्यान दिनु पर्छ । क्यान्सर बिरामीहरूले स्यानीटाइज भन्दा पनि साबुन पानीले नै हात धुने गर्नु पर्छ । सकेसम्म घरमै बस्नु पर्छ ।
अहिलेको अवस्थामा क्यान्सर बिरामीहरूले समाजिक दुरी कायम गर्ने, आफ्नो औषधि नछुटाइकन सेवन गर्ने, सकेसम्म अस्पताल गइहाल्ने भन्दा पनि डाक्टरसंग सम्पर्कमा नै बस्ने, खानपानमा विशेष ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने खालका खानपान गर्ने, शारिरिक व्यायम गर्ने र सकारात्मक सोच राख्नु अति आवश्यक छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस