वैशाखमा विपद्का घटनामा परी २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको आर्थिक क्षति
काठमाडौं, ३ जेठ
पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
वैशाख महिनामा ४०७ वटा विपद्का घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा २६ जनाको मृत्यु र ८९ जना घाइते भएका थिए ।
विपद्का घटनाका कारण पछिल्लो एक महिनामा देशभर ५४५ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले १९९ घरमा आंशिक र १८६ घरमा पूर्ण क्षति गरेको केन्द्रले जनाएको छ ।
विपद्का घटनामध्ये आगलागीमा परी १३, चट्याङ लागेर ७, हावाहुरीका कारण २, जनावरको आक्रमणबाट २, पहिरो परी १ र सर्पको टोकाइबाट १ जनाको मृत्यु भएको छ ।
विपद्का घटनाबाट वैशाख महिनामा मात्र ३१ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले बताएको छ । सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ३० करोड रुपैयाँभन्दा बढीको गरेको छ ।
विपद्का घटनाले नेपालमा वर्षेनी सयौंको ज्यान लिने गरेको छ भने करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति गर्ने गरेको छ । केन्द्रका अनुसार गत वर्ष २०७८ सालमा विपद्का ३ हजार ९१५ घटनामा ५०८ जनाले ज्यान गुमाएका थिए भने ७७ जना वेपत्ता रहेका छन् ।
गतवर्ष विपद्का घटनामा परी १ हजार ७८३ जना घाइते भएका थिए । विपद्का घटनाले २०७८ सालमा २ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस