• जीवनशैली | Jiwanshaili
  • ‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना


    दिलमाया शाही
    जुम्ला, २१ जेठ

    दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् । आर्थिक सहयोग पाए बाँच्‍ने उनको आशा छ ।

    तातोपानी गाउँपालिका– २ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य भएका छन् ।

    ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए ।

    उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ । दुवै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने डाक्टरले भनेका छन् । सबै सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गर्छु । मेरो घरमा छ वर्षीय छोरा र श्रीमती मात्रै मेरा साहारा छन् । बाँच्‍ने इच्चा छ ।’

    स्थानीय रामबहादुर रावलले आर्थिक अभावले खत्रीलाई अस्पताल लान नसकिएको र घरमै राख्नुपरेको पीडा व्यक्त गरे ।  सकेको आर्थिक सहयोग गरेर बचाउन चाहनेले आफ्नै मोबाइल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीको अनुरोध छ ।

    उनले सांग्रिला डेभलपमेन्ट बैँक जुम्ला शाखामा रहेको आफ्नो खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा रकम जम्मा गर्न सकिने पनि बताए ।

    बिरामी भएपछि उनी नेपालका विभिन्‍न अस्पताल र भारतका केही अस्पतालमा उपचारका लागि गएका थिए । सो क्रममा दुवै मिर्गौलो काम नगर्ने भएको अवस्थामा पुगेको चिकित्सकले भनेपछि उनी गत चैतमा घर फर्किएका थिए ।

    आर्थिक अभावकै कारण उपचार गराउन नसकेपछि घरमै थलिएका छन् ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस