• जीवनशैली | Jiwanshaili
  • राष्ट्रिय परिचयपत्र बनाउन रातीदेखि सेवाग्राही लाममा


    बागमती नगरपालिका –७, का कृष्णबहादुर मोक्तान राष्ट्रिय परिचयपत्रको फर्म भर्न ईलाका प्रशासन कार्यालय हरिवनमा लगातार तीन दिन धाए। बिहान ४ बजे नै लाइनमा आएर बसेका मोक्तानको बिहीबार कार्यालय खुलेपछि मुस्किलले फर्म भर्ने पालो आयो।

    “यहाँ त टोकन प्रणाली लागू रहेछ, टोकन लिन नै तीन दिन लाग्यो,” बिहीबार दिउँसो कार्यालय परिसरमा भेटिएका मोक्तानले भने, “ठूलो सङ्घर्षले टोकन हात पारेर आज बल्ल फर्म भरे, युद्ध नै जितेकोजस्तो लागिरहेको छ।”

    सरकारले पर्याप्त कर्मचारी र स्रोत साधनको व्यवस्था नगर्दा राष्ट्रिय परिचयपत्रका लागि फर्म भर्न आउने आफूजस्ता कैयौँ सेवाग्राहीले दुःख खेपिरहेका मोक्तानले बताए। टोकन लिन सेवाग्राहीहरु हरेक दिन बिहान चार पाँच बजेदेखि नै लाइनमा आएर बस्ने गर्छन् ।

    टाढा घर भएका सेवाग्राहीलाई त्यसरी उज्यालो नहुँदै लाइनमा आएर बस्न समस्या रहेको सेवाग्राहीको भनाई छ। यस्तै, लालबन्दी नगरपालिका–५, की अम्बिकादेवी घिमिरे पनि राष्ट्रिय परिचयपत्रका लागि फर्म भर्न दुई दिनसम्म ईलाका प्रशासन कार्यालयमा धाईन् ।

    मङ्गलबार र बुधबार दुई दिन लगातार धाएपछि घिमिरेले फर्म भरेर फर्किईन्। “मेरो कार्यालयमा छुट्टी भइरहँदैन, जसरी पनि फर्म भरिदिनुहोस् भनेर कर्मचारीसँग हारगुहार गरेँ, त्यसपछि बल्ल फर्म भरिदिए,” घिमिरेले भनिन्।

    इलाका प्रशासन कार्यालय हरिवनको परिसर राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीडले दैनिक भरिभराउ हुन्छ । कार्यालयका प्रमुख गुणबहादुर भुजेलले सेवाग्राहीको चाप थेग्नै मुस्किल परिरहेको जानकारी दिए।

    भुजेलकाअनुसार हरिवनबाट अहिले राष्ट्रिय परिचयपत्रका लागि दैनिक ६० देखि ७० ओटासम्म फर्म भर्ने गरिएको छ । “केही दिन अघिसम्म दैनिक ४० जना सेवाग्राहीलाई टोकन बाँड्थ्यौँ र अरुलाई फर्काइँथ्यो । तर अहिले जति जना सेवाग्राही आएपनि टोकन दिने गरेका छौँ।” कार्यालय प्रमुख भुजेलले भने, “१०० ओटा टोकन बाँड्दा ६० देखि ७० जनाको मात्रै फर्म भर्न भ्याइन्छ, टोकन दिएर पनि काम गर्न नभ्याएकालाई भोलीपल्ट बोलाउने गरेका छौँ ।”

    राहदानी (पासपोर्ट) बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि सेवाग्राहीको भीड बढेको इलाका प्रशासन कार्यालयका प्रमुख भुजेलले बताए। “कक्षा १२ को परीक्षा सकिएलगत्तै वैदेशिक रोजगारीमा जान खोज्नेहरु बढ्नुभएको देखिन्छ, त्यसैले पनि राष्ट्रिय परिचयपत्र र राहदानी फाँटमा भीड लागेको हो,” भुजेलले भने।

    राष्ट्रिय परिचयपत्रको काम गर्न दुई जना कर्मचारी रहेका र त्यमसध्ये एक जनाले सेवाग्राहीको फर्म भर्ने र अर्कोले कम्प्यूटरमा विवरण चढाउने काम गर्नेगरेको इलाका प्रशासन कार्यालय हरिवनले जनाएको छ। जनशक्तिको अभाव र बेलाबेलामा सर्भर ‘डाउन’ हुने समस्या रहेको कर्मचारीहरुले बताएका छन्।

    सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन गरी दुई ठाउँबाट राष्ट्रिय परिचत्रपत्रका लागि फर्म भर्ने गरिन्छ । हरिवनमाजस्तै जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पनि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि सेवाग्राहीको अत्यधिक भीड हुनेगर्छ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले अहिले राष्ट्रिय परिचयपत्र नभई राहदानी नबन्ने भएकाले राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप बढेको बताए। “हरिवनमा जस्तै हाम्रो कार्यालयमा पनि सेवाग्राहीको भीडभाड छ, धेरैजना अहिले पनि लाइनमै हुनुहुन्छ।”

    सहायक प्रमुख जिल्ला अधिकारी घिमिरले भने, “केही महिनाअघि पालिकाको वडा कार्यालयमै पुगेर विवरण सङ्कलन गर्न छुटेकाहरु अहिले कार्यालयमै आइरहेका छन्।”

    सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवाग्राहीहरु रित्तो हात फर्किएर जानु नपरोस् भनेर कर्मचारीहरुले साँझ अबेरसम्म पनि काम गर्नेगरेको बताए । “सर्वसाधारणले दुःख पाउनु भएन भन्ने हिसाबले काम गरिरहेका छौँ। तर जनशक्ति अभावले गर्दा काम गर्न समस्या छ,” सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने। गोरखापत्रबाट


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस